काठमाडौँ — देशका तराई क्षेत्रमा गर्मीले तीव्र रूप लिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभाग ले सोमबार सार्वजनिक गरेको विशेष बुलेटिनअनुसार लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।
मधेश, बागमती र गण्डकीका तराई भू-भागमा पनि तापक्रम ३८ डिग्री आसपास मापन हुँदा जनजीवन प्रभावित हुन थालेको छ। विभागका अनुसार आगामी तीन दिनसम्म अत्यधिक गर्मी कायम रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम स्तरको तातो लहर चल्ने सम्भावना छ।
गर्मीका कारण थकान, टाउको दुख्ने, चक्कर आउने, अत्यधिक तिर्खा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले चर्को घाममा बाहिर ननिस्कन, हल्का कपडा लगाउन, प्रशस्त पानी पिउन र स्वास्थ्य समस्या देखिएमा तत्काल चिकित्सकसँग परामर्श लिन सुझाव दिएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र बाहिर काम गर्नेहरू बढी जोखिममा रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।