रमानन्द सिंह थारु संस्कृतिको शिलान्यास

समाचार


प्रिया सिंह थारु।
सप्तरी , २० जेठ । 
रमानन्द सिंह थारु सँस्कृति बिकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालयको बुधबार पर्खाल निर्माणको शिलान्यास गरिएको छ ।
सप्तरीको अग्निसाइर कृष्णा सवरन गाउँपालिका वडा नम्बर ४ स्थित समितिका अध्यक्ष निखिल सिंहको अध्यक्षतामा तथा ४ नम्बरका वाडा अध्यक्ष तेज नारायण यादवको प्रमुख आतिथ्यमा रमानन्द सिंह थारु सँस्कृति बिकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालयको पर्खाल निर्माणका शिलान्यास गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि यादवले बहुआयामिक व्यक्तिन्व रमानन्द बाबुको स्मृतिमा उहाँको जन्म थलोमा निर्माण हुने प्रतिष्ठानले गाउँपालिकाको समग्र पहिचान र विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।  प्रतिष्ठान निर्माणले नमानन्द प्रसाद सिंहले समाज, देश प्रति पुर्‍याएको योगदानको कदर हुने भन्दै उनले प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यमा पूर्ण साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन  ।


सो कार्यक्रममा थारु भाषा साहित्य केन्द्रका केन्द्रीय अध्यक्ष भुलाई चौधरीले थारु समुदायमै अविस्मरणीय छाप छोडेर देशविदेशमा चर्चा पाएका व्यक्तित्वको स्मृतिमा थालिएको प्रतिष्ठान भवन निर्माण कार्य सधैको लागि स्मरणीय हुने बताएका छन भने उहाँको सम्मानमा राज्य स्तरबाट हुनु पर्ने कार्य  परिवारको सदस्यले चासो राखेर  ढिलै भएपनि सुरुवात गरेकोमा प्रशंसा व्यक्त गर्दै  उनले प्रतिष्ठान निर्माण कार्यमा सबै पक्षको साथ सहयोग अपरिहार्य हुने बताए ।


त्यस्तै आदिवासीजनजाति पत्रकार महासंघका महासचिव  बृजमान तामाङले  प्रतिष्ठान स्थापनासंगै  थारुसहित सबै भाषा संस्कृतिको जगेर्नामा मदत पुग्ने बताए ।  प्रतिष्ठान निर्माणमा परिवारका सदस्य समेत रहेकी पत्रकार प्रिया सिंह थारुले प्रतिष्ठानको परिकल्पना गरी मुर्तरुप पाएकोमा खुशी व्यक्त गर्दै उनले यसले सामाजिक रुपान्तरणमा सहयोग पुग्नुको साथै  सबैजातजाति भाषा, संस्कृति जगेर्नामा प्रेणा मिल्ने विश्वास समेत व्यक्त गरे ।

उक्त शिलान्यासमा थारु भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरी,  यूवा नेता अजय चौधरी,जग्गादता परिवारका सदस्य लिलाधर प्रसाद सिंह, सृजना लेखी पाठक, वडा सदस्य जानकी चौधरी, स्थानीय अशोक कुमार चौधरी, शैलेन्द्र कुमार गामी, पत्रकार प्रिया सिंह थारु, संदिप सिंह , जगदिश सिंह लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति रहेको थियो ।


मधेस प्रदेश सरकारको २५ लाख लागतमा सुरु गरिएको उक्त प्रतिष्ठान भवन निर्माणका लागि  परिकल्पनाकर  प्रिया सिंह थारु ( पार्वती ) , बिनम सिंह तथा लिलाधर सिंहका आमा भुलमाया देवी चौधरीले २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएकी छन् ।
सप्तरीको प्रशवनीमा जन्मिएका सिंह   २०४७ सालको संविधानका मस्यौदाकार, सरकारको महान्यायाधिवक्ता र कानून सचिव समेत रहेका थिए । बालविवाह, कनौती प्रथा, दहलौनिया भार जस्ता कुप्रथाहरुको अन्त लगायत देशको हरेक परिबर्तनमा अग्रणी भुमिकामा रहेको सिंहको जन्म १९८५ कार्तिक २६ गते भएको थियो भने स्वार्गारोहण २०६५ बैशाख २५ गते भएको थियो । सो कार्यक्रम संचालन स्थानीय युवा कलाकार प्रबिण चौधरीले गरेका थिए ।